ഉപയോക്താവ്:Suman nepal

വിക്കിപീഡിയ, ഒരു സ്വതന്ത്ര വിജ്ഞാനകോശം.

प्रत्येक पलहरु पानीमा डुङ्गाले कोतरेका पाइलाहरु जस्तो गुमनाम हुने क्रममा थियो । म कक्षा आठमा पढ्थेँ । नाकको फेदीमा पुरुषत्वको कालो रेखा पलाउँदै थियो । उकुसमुकुस गर्मी हुन थालेको थियो । एक्लो बस्दा अक्सर काउकुति लाग्थ्यो । उत्ताउलो हुने क्रम सुरु हुँदै थियो । गाउँको स्कुल परिवर्तन गरेर सहर छिरेको भर्खरै एक वर्ष मात्र पुग्न आँटेको थियो । म सहरको रवाफ र संस्कृतिसित अभ्यस्त हुने क्रममा थिएँ । तर केही कुराहरुप्रति अझ बेखबर थिएँ । अपवादको रुपमा यिनै कुराहरुले अक्सर अप्ठ्यारो बनाउँथ्यो । न्यु लर्नरका लागि सहरको वास्तुशास्त्र एउटा रहस्यात्मक सपना थियो । त्यहाँको हाउभाउ, बोल्ने शैली, हिँड्नै शैली, पहिरनको प्रकृति यो नै सहरिया र गाउँले छुट्याउने मापदण्डको रुपमा हिट थियो । अक्सर साइकलमा हिँड्दा अङ्ग्रेजी गीत बजाउनै पर्थ्यो । एक्स्ट्रिम नेपाली र्याप सुन्नै पर्थ्यो । गाउँमा लोकगीत सुनेर हुर्किएको म एकाएक धर्म परिवर्तन जस्तो दैनिकी परिवर्तनमा खुलेआम उत्रनु कम चुनौती थिएन । नगरपालिका रोडमा हाम्रो घर थियो । बरण्डामा उभिएर हेर्दा मानिसहरुको चाप खचाखच हुन्थ्यो । जब साँझ पर्थ्यो मोबाइलमा अङ्ग्रेजी गीत बजायर हिँड्ने तन्नेरीहरुको लामो लाम देखिन्थ्यो तर विभिन्न गुटमा विभाजित । मलाई अक्सर त्यही ग्रुपमा मिसिने र अङ्ग्रेजी गीत सिक्ने ठूलो रहर थियो । म त्यही गु्रपमा मिसिएको कल्पना गर्थें र ब्याकराउन्डमा अङ्ग्रेजी गीत बजिरहेको हुन्थ्यो । समय बित्दै थियो । स्कुलमा केही साथीहरु बने । तर अङ्ग्रेजी गीतको तिनीहरुले छेउटुप्पै बुझ्दैनथे । जब साँझ पर्थ्यो साइकलमा हेटौँडाका हिट स्पटहरु चाहार्न थालिसकेका थियौँ । बनस्खन्डी र भुटनदेवी मन्दिर हाम्रो केन्द्रमा पर्थ्यो । किनभने त्यहाँ प्रेम जोडीहरुको उत्ताउलो क्रियाकलाप हेर्न पाइन्थ्यो । हामी उनीहरुको क्रियाकलापले मुग्ध हुन्थ्यौँ । र भोलि दिनभरी क्लासका लागि खुराक नै त्यही विषय हुन्थ्यो । सुसनेले किंवदन्ती थपीथपी भन्ने गर्थ्यो । वन्समोरको शैलीमा क्लासका केटाहरुबाट ताली आउन थालिसकेको थियो । कक्षा ८ को बीचतिर मेरै चोकको एउटा केटा भर्ना हुन आयो । जो अक्सर त्यही भीडमा अङ्ग्रेजी गीत बजाएर हिँड्ने गर्थ्यो । म खुसीले गद्गद् भएँ । मेरा लागि अङ्ग्रेजी गीत सिक्ने अवसर उसले दिलाउन सक्थ्यो । हाम्रो ग्रुपको तीनैजना उसको भरसक चाकडी गर्न थाल्यौँ । उसको नाम श्यामसुन्दर श्रेष्ठ थियो तर कक्षामा ‘लक्की’ नामले प्रख्यात थियो । पछि बुझ्दै जाँदा थाहा भयो हिन्दी फिल्म ‘मे हुना’ हेरिसकेपछि उसले आफ्नो बदलेर लक्की राखेको थियो । हामी सबै लक्की भनेर बोलाउँथ्यौँ । फेरि परिवेश पनि उस्तै थियो । हेटौँडाको आधुनिक राष्ट्रिय माविबाट दुईपटक फेल भइसकेपछि थर्डइयर पढ्न हाम्रो स्कुल आएको थियो । एकथरी ग्याङले उसलाई ‘मोर्डन’ भनेर जिस्काउने गर्थे । लक्की अब हाम्रो ग्याङमा मिसियो । ऊ पनि हामीसँगै फस्ट बेन्चमा बस्न थाल्यो । विजय, म सुसने अनि लक्की स्कुलको हिट ग्याङको रुपमा प्रख्यात भइसकेका थियौँ । बजारको चोकहरुमा हाम्रो साइकलयात्रा चरम गतिमा मच्चिन थालिसकेको थियो । तर हाम्रो फ्रेन्डसिपको एक मात्र इन्टेन्सन थियो अङ्ग्रेजी गीत सिक्ने । किनभने त्यतिबेला हामीसँग मोबाइल हुन्थेन । अरुको मोबाइलमा गीत सुन्नु संसारकै टप टेन आनन्दभित्र पर्थ्यो । तर टेलिभिजन र एफएममा भने गीतको पर्खाइमा हाम्रो समय व्यतित भइहेको हुन्थ्यो । एक दिन विजयले लक्कीलाई भन्यो, “ओइ, हाम्लाई नि इङ्लिस् गीत सिकान अब हामी पनि साइकलमा इङ्लिस गीत गाउँदै हिँड्नुपर्छ । हो कि होइन केटा हो ?” हामीले समर्थनको शैलीमा “हो” जनायौँ । “मलाई पनि इङ्लिस गीत आँउदैन दोस्त”, लक्की बोल्यो । “अनि किन इङ्लिस गीत सुन्दै हिँड्छस् त ?, फटा मूला”, सुसने बोल्यो । “इङ्लिस गीत त फेसन हो दोस्त, इङ्लिस गीत सुनेपछि केटी पट्याउन सजिलो हुन्छ”, लक्की बोल्यो । इङ्लिस गीत सिक्ने हाम्रो सपना चकनाचुर भो । लक्कीप्रतिको हाम्रो चाकडी पनि खेर गयो । हामी निराश भयौँ । लक्कीबाट यो आशा कुनै पनि हालतमा छँदै थिएन । बेलुकी अङ्ग्रेजी गीत सुन्दै हिँड्ने टोलका केटाहरुप्रतिको हाम्रो मोहभङ्ग भो । त्यस दिन हाम्लाई यर्थाथ दुम्सीको काँडा जस्तो बनेर भित्री मुटुसम्म घोचिरह्यो । एकपटक फेरि साइकलमा इङ्लिस गीत गाउँदै हिँड्ने सपना तुहियो । त्यतिबेला शिशिरको खुड्किला चढ्दै थियो मौसम । हाप टाइममा स्कुलका केटाहरु चौरमा फिँजिन थालिसकेका थिए । ननभेज जोक्सका लागि चौर पर्फेक्ट जक्सनका रुपमा हिट हुन थाल्यो । केटाहरुको गुट उपगुटले चौरको सौन्दर्यशास्त्रमा नयाँ आयाम थपेको थियो । स्कुलभरिका केटीहरुलाई समेत क्लोज अप सर्टमा हेर्न सकिन्थ्यो । त्यो समय हाम्रा लागि अवसरको रुपमा विकास हुँदै थियो । त्यत्तिकैमा मेरो दृष्टि मन्दिरको छेउमा बसिरहेकी एउटी केटीमा ठोक्किन पुग्यो । स्कुलको बीचमा एउटा पुड्के मन्दिर थियो अक्सर ऊ साथीहरुको बीचमा त्यही देखिने गर्थी । अनुहार अगाडि लत्रिएको लहरा जस्तो कपाल घरीघरी दाइने हातले कानको पछाडि लाने गर्थी । सानो तर चिटिक्क परेका आँखा । त्यस्तै रहस्यात्म दृष्टि । म पागल भएँ । म हरेक दिन उसैलाई हेर्ने आशामा चौर पुग्न थालेँ । मलाई ननभेज जोक्सले अब आकर्षित गर्न छाडेको थियो । एकनास हेरिरहन्थेँ उसैलाई । वास्तवमै भन्दा म उसलाई मन पराउन थालिसकेको थिएँ । त्यतिखेर टेलिभिजनमा किस्मत कनेक्सन फिल्मको “बाखुदा तुम्ही हो, हर जगा तुम्ही हो” गुन्जिरहेको हुन्थ्यो । स्कुल जाने बेला काइँयोले कपाल कोर्दै म यो गीत गुन्गुनाउन थाल्थेँ । जब यो गीतको भिडियो टिभीमा हेर्थेँ, मलाई उसको यादको सिम्फोनीले छम्लङै छोप्थ्यो । त्यस गीतको भिडियोको साइद कपुरको ठाउँमा म आफूलाई राख्थेँ र विद्या बालनको ठाउँमा उसलाई राखेर कल्पना गर्थेँ । मैले उसलाई मनपराएको कुरा कुनै नेताको लेटेस्ट वक्तव्य जस्तो ननभेज जक्सनभरी मसला हुन थाल्यो । तर विस्मात मलाई न उसको नाम थाहा थियो न ठेगाना । म पुरै बेखबर थिएँ । अब मलाई उसको बारेमा थाहा पाउनु थियो । उसको बारेमा पत्ता लगाउने जिम्मेवारी लक्कीले लिग्यो । केही दिनभित्रै उसले आफ्नो जिम्मेवारी कुसलतापूर्वक निभायो । उसको नाम विनिता, कक्षा नौ र घर हेटौँडा बसपार्क । अर्को अप्रत्याशित बिस्मात थपियो । ऊ मभन्दा एक कक्षा सिनियर थिई । मलाई एक कक्षा तल हुनुपरेकोमा ठूलो दुःख लाग्यो । फेरि कल्पनामा उसैको बेन्चमेट भएर कक्षा नौमा पढिरहेको हुन्थेँ । ऊसँग जोडिएर कल्पना गर्नु भनेको मेरा लागि संसारकै सर्वश्रेष्ठ कामको रुपमा विकसित हुँदै गयो । त्यसताका मलाई एक वर्षपछि जन्मिएकोमा खुब पछुतो लाग्यो । सम्भावनाको रङ्गीन थोपाहरु सुकेर बनेको खण्डहर सतह जस्तो लाग्न थाल्यो परिस्थिति । म खुब विह्वल भएँ । जिन्दगी व्यर्थ लाग्न थाल्यो । म छतमा पुगेर आकाश हेर्न थालेँ । जब आकासको आकृतिमा उसलाई देख्दिनथेँ मन भारी भएर आउँथ्यो । यतिसम्म कि ऊविना यो संसारको अस्तित्व नै असमर्थ छ जस्तो लाग्न थाल्यो । हरेक प्राकृतिक प्रकृया पनि ऊविना असम्भव देख्न थालेँ । ऊ छे त यो संसारमा रङ छजस्तो लाग्थ्यो । विविध अस्तित्व र प्रकृया छजस्तो लाग्थ्यो । उज्यालो छजस्तो लाग्थ्यो । मनमा यस्तै विचारहरुको गुँड बसिसकेको थियो । जब म सम्झनाले मदहोस हुन्थेँ साइकल बोकेर बसपार्क डुल्थेँ । उसलाई देख्ने रहर मनमा जिउँदो थियो । पछाडि लक्की बस्थ्यो । मेरो प्रेमको सफलताको विषयमा ऊ खुब प्रोत्साहन दिन्थ्यो । तर लक्की अनि सुसने र पाडोको एउटै मात्र दबाब थियो मैले प्रत्यक्ष प्रपोज गर्नुपर्छ । किनभने त्यतिबेलासम्म म एकोहोरो दिवाना मात्र थेँ । मेरो मनको कुरा ऊसम्म पुग्नुपर्छ भन्ने थियो केटाहरुको तर्क थियो । म एक्लो अर्जुन थिएँ । मात्र उसको मनसम्म ठोक्किनका लागि मलाई जादुगरी गान्डिव चाहिएको थियो । यस्तै जादुगरी कल्पना गर्दा गर्दै कक्षा आठ सकियो । ऊप्रतिको मोह झन् गहिरिँदै गएको थियो । तर विडम्बना फेरि पनि त्यस शैक्षिक वर्षले लक्कीलाई अनलक्की सावित गरिदियो । कक्षा ८ तेस्रो वर्षमा पनि अनुत्तीर्ण भएपछि एक्कासि टोलबाट लक्की हरायो । केही दिन लक्कीको बारेमा खुब सोधखोज गर्यौँ । तर हाम्रा प्रश्नहरु अनुत्तरित रहे । केही दिनपछि बजारमा ठुलो हल्ला मच्चियो । सबैको मुखमा एउटा मात्र वाक्य थियो, “मनकामना जङ्गलमा अधवैँशै केटाको लास भेटियो ।” एककान दुईकान हुँदै हरेकले थाहा पाइसेका थिए । तर त्यो लास कसको थियो अझै सनाखत भइसकेको थिएन । केही समयपछि त्यो रहस्यलाई मत्थर पार्दै अर्को हल्ला चर्को वर्षा जस्तो दर्किन थाल्यो । त्यो लास कसैको नभएर श्यामसुन्दर श्रेष्ठको थियो । अर्थात लक्कीको । ८ कक्षामा तेस्रोपटक फेल भयपछि उसले आफूलाई सान्त्वना दिन सकेन र मृत्युको बाटो रोज्यो । बजार यस्तै तर्कनामा व्यस्त थियो । लक्कीको परिवारमा भने दुःखको कहालीलाग्दो सन्नाटा मच्चियो । लक्कीको मृत्युको खबरले मेरो मनोविज्ञानमा हान्यो । चट्याङले खप्परमा हिर्काएको जस्तो महसुस भयो । मभित्रको शक्ति नै लड्खडायो । भाउन्न हुन थाल्यो । आफूलाई रोक्नै सकिन र सीधै साइकल चलायर पुगेँ विजयको घरमा । सिमसिम पानी परिरहेको थियो । विजय पानीमा रुझ्दै छतमा बसिरहेको थियो । मेरो उपस्थितिले उसमा कुनै प्रभाव पर्न सकेन । ऊ मौन थियो । बिल्कुल मौन । आँखा आँशु जमेको ताल जस्तो टिलपिल थियो । हामी एकोहोरो पारि क्षितिजसम्म हेर्दै टोलाइरह्यौँ । त्यतिकैमा हतासिँदै सुसने आइपुग्यो । ऊ त्यस्तै थियो महिनौँ खाना नखाएको भोको मान्छे जस्तो । खुसीका सबै रङ उडेर बाँकी रहेको फिका अनुहार थियो उसको । हामी तिनै जना एकोहोरो झोक्राइरह्यौँ । त्यो मृत्युसँगको पहिलो पटक साक्षात्कार थियो । मृत्यु त्यतिसम्म पनि भयानक हुन सक्छ हाम्रो कल्पना भन्दा बाहिरको कुरा थियो । हामी टुहुरो भयौँ । जसरी हावाले छरपस्ट कागजका टुक्राहरु उडाएर लग्छ धेरै पर त्यसरी नै उसको सम्झनाको प्रसङ्गहरु हावाको झोक्कासँग उडे अनाम दिशातिर । मैले साइकल चलाउन छाडिदिएँ । जब साइकलमा चढेर बजार एकफन्को चक्कर लगाउन खोज्थेँ । लक्कीको सम्झनाले रुद्रघण्टी समाउँथ्यो र श्वास फेर्न गाह्रो हुन्थ्यो । साइकलमा चढेर अङ्ग्रेजी गीत सुन्दै डुल्ने रहर ब्रेक बनेर साइकल रोक्थ्यो । त्यसपछि हामी सबै साइकलमा देखिन छाड्यौँ । लक्कीसँग साइकलमा डुलेका ती चोक, ती गल्ली क्रिया बसेको शोकाकुल मान्छेहरु जस्तो लाग्न थाल्यो । यता लक्कीको मृत्युको एक्स्ट्रिम शोक र अर्कोतिर विनिताको गहिरो याद । मैले आफूलाई थाम्न सकिन । हररात सपनीमा लक्की आउँथ्यो प्रगति विवरण चेक गर्थ्यो । तर विपनीमा ऊ हुँदैनथ्यो । बस् उसको सम्झना र विनिता प्रतिको गहिरो मोह मसँग यही नै थियो । साथीको मृत्युले उत्पन्न गराएको शोकमा प्रेमको गान्डिवको खोजीमा दौडनु कम्ती धर्मसङ्कट थिएन । यता स्कुल खुल्यो । स्कुलको वातावरण पनि लक्कीको मृत्युको खबरले उदास थियो । बस बेन्चमा पाडो, सुसने र म थियौँ । लक्की थिएन । केही दिन मन पोलिरह्यो । मान्छे न हो, केही कुराको अनुपस्थितिमा नयाँ बाहाना खोजिहाल्छ । बिस्तारै हामी नयाँ वातावरणसँग अभ्यस्त हुन थाल्यौँ । फेरि खुसीको कुरा स्कुलसँगै लाइब्रेरी पनि खुल्न थालेको थियो । अब नयाँ जक्सनको रुपमा लाइब्रेरी हिट भयो । विनिता पनि आक्कल झुक्कल लाइब्रेरीमा देखिन थाली । मेरो मनबाट खुसीका चङ्गाहरु उडे । हरेक दिन जब स्कुलबाट फर्कन्थेँ । भोलिको दिनको आतुरतामा मेरा रौँहरु तिखा हुन्थे । रातभर उसैलाई सम्झिरहन्थेँ । बुबाममीको फोटोको छेउमा उसको र मेरो फोटोको कल्पना गर्थेँ र एक्लै हाँसिरहन्थे । साँच्चै लभ परेको थियो मलाई । समय आफ्नै गतिमा दौडिरह्यो । उसलाई प्रपोज गर्न नसकेको तिक्तता मनमा बिझिरहन्थ्यो । केटाहरुले धेरैपटक उक्सायर कर नगरेका पनि होइन । मेरो मुखबाट बोली फुट्न सकेको थिएन । एक कान दुई कान हुँदै मैले मनपराएको कुरा उसले थाहा पाइसकेकी थिई । लाइब्रेरिमा आउँदा अक्सर उसको ग्याङ मतर्फ हाँस्दै फर्कन्थेँ । मनमा लड्डु फुट्थ्यो तर बाहिर कुनै प्रतिक्रिया देखाउने आँट गर्नै सकिन । ऊ मतर्फ फर्किएर हाँसेको रात म निदाउन सक्दिनथेँ । कल्पनामा उसको हाँसो स्लोमोसनमा हेरिरहन्थेँ । हेर्दा हेर्दै छलङ्ग उज्यालो भएको पत्तै हुँदैन थ्यो । त्यो दिन बर्खे बिदा सकिएर स्कुल खुलेको केही दिन मात्र भएको थियो । भदौको मौसन थियो । खुल्ला आकास अनि सौन्दर्यले भरिएको परिवेश मोहक थियो । त्यस दिन सुरुदेखि नै लाइब्रेरीमा केटाहरुको हाउभाउ निकै फरक खालको थियो । त्यो गु्रप हाम्रो एन्टिगु्रप थियो । पाँच जना कहिल्यै नछुट्ने । स्कुलमा पाण्डव गु्रपको नामले फेमस थियो । हाम्रो गु्रपमा सुसने आएको थिएन, विजय र म धुम्धुम्ती लाइब्रेरीमा बसिरहेका थियौँ । “ओइ हेर त विनिता आई”, पाडो मलाई हेर्दै खुसुक्क बोल्यो । यस्सो फर्किएर हेरेँ । ऊ मतर्फ आइरहेकी थिई । उसको छेउमा उसको ग्याङ थियो । ऊ एकाएक मेरो छेउमा आएर बसी । मुटुको धढ्कन बढ्यो । ड्याङड्याङ मुग्रो ठोकेको जस्तो आवाज निस्किरहेको भान भइरहेको थियो । पाण्डव गु्रप रहस्यात्मक मुद्रामा यताउति दगुरिरहेका थिए । विजय बुढी औँला तेर्साएर त्यहाँबाट बाहिरियो । विनिता र म मात्र भयौँ । अरु आफ्नो तालमा पढिरहेका थिए । उसले खल्तीबाट माला निकाली र मतर्फ इसारा गर्दै भनी, “लाउने हो ?”, मैले टाउको हल्लाएँ । उसको हातमा माला थियो । उसले मेरो हातमा लगाइदिई । उसको न्यानो स्पर्शले मभित्र प्रेमको नयाँ आयाम सृष्टि भएको थियो । उसका साथीहरु अब पैसा दिनुपर्छ भन्दै कराउन थाले । मैले त्यसको तात्पर्य तात्तोभुत्लो बुझिनँ । खल्ती खोतल्दा जम्मा दस रुपियाँ फेला पर्यो त्यही राखेँ टेबुलमा । नलिईकन उनीहरु निस्किए । हातमा लगाएको माला हेरेँ । सुन्दर थियो । लाग्यो यो फ्रेन्डसिप डोरोले प्रेमको नयाँ सम्भावना खोल्नेछ । तर मेरो सोच पूरा नहुँदै पाण्डब गु्रपका केटाहरु लाइब्रेरीमा देखा परे । “विनिताले अर्जुनेलाई राखी लगाइदिई केटा हो ! यो अब बर्बाद भो !”, पाण्डब गु्रपबाट नेता बेस्कन करायो । मैले केही बुझिनँ । मैले राखीको मतलब बुझेको थिइनँ । गाउँमा राखी भन्ने शब्दको बारेमा त्यस्तो चर्चा नै हुन्थेन । हतास मुद्रामा विजय मेरो छेउ आयो । “बर्बाद भो यार, तलाई तेस्ले राखी लगाइदिई । यो पाण्डवहरुको षड्यन्त्र हो तिनीहरुलाई छोड्न हुँदैन अर्जुने ।” पाडो बोल्यो । राखी भनेको के हो र यार ?” मैले भने । “दिदी बहिनीले दाजुभाइलाई लाउँछन् यार । खत्तम भो । तिनीहरुले जानीजानी फसाको हो, छोड्न हुँदैन ।”, विजय बोल्यो । विजय बोल्दै गर्दा त्यसको स्वर काँपिरहेको थियो । मलाई झनक्क रिस उठ्यो । किनभने मेरो सपनाको संसार कुनै कमजोर काँचैझैँ फुटेको थियो । मभित्र विभिन्न विचार आन्दोलित हुन थाल्यो । मलाई असाध्यै चित्त दुख्यो किनकि जानाजान मेरो सोझोपनको फाइदा उठाइयो । आँखाबाट आँशु चुहियो । जब हामी लाइब्रेरीबाट बाहिर निस्कियौँ पाण्डब गु्रप फरार थिए । म जतातै हाँसोको पात्र भएको थिएँ । सबैले मलाई हेर्दै गिल्ला गर्न थाले । कक्षा १० का विद्यार्थीहरुसँग मैले नजर उठाएर हेर्न सकेको थिइन । घरिघरी कक्षामा समेत मेरो बिल्ला भइरह्यो । म कुनामा बसेर मनमनै रोएँ । त्यस दिन मेरो लागि धर्ती फाटेको थियो । आकास खसेको थियो । सम्भावनाहरु रित्तिएर खडेरी परेका थिए सपनाहरुमा । मरभूमि भएको थियो मुटु । छुट्टी हुने बित्तिकै हामी छिटो निस्कियौँ स्कुलबाट । फाइब स्टार छिर्यौँ । केटाहरुले चुरोट खाने अड्डालाई फाइब स्टार भन्थे । विजय चुरोट तान्न खप्पिस भइसकेको थियो । ओठबाट चुरोटको धुवाँलाई गोला गोला माला जस्तो बनाएर निकाल्थ्यो । म घोत्लिरहेको थिएँ । विनिताप्रति असाध्यै रिस उठेको थियो । “दोस्त चुरोट खा मन शान्त हुन्छ ।”, मतर्फ चुरोट तेस्र्याउँदै पाडो बोल्यो । मैले उसको प्रस्ताव नकारिदिएँ र एक्लै लागेँ घर । मन दुखिरहेको थियो । वर्षाले कोतरेको जस्तो महसुस भइरहेको थियो हृदय । त्यस रात ठूलो झरी पर्यो । म रातभर सुँक्क सुँक्क रोइरहेँ । समय यति निठुर हुन सक्छ कहिल्यै सोचेको थिइनँ । मन भत्भती पोलिरह्यो । आँशु बगेर सिरानी पुरै भिजाइसकेको थियो । र मैले क्रुर भएर विनितालाई अब प्रेम नगर्ने वाचा गरेँ । त्यस पश्चात कहिल्यै पनि विनितातर्फ फर्केर हेरिनँ । थाहा छैन उसले मतर्फ हेरि वा हेरिनँ । आफ्नो गल्ती बारे उसलाई पश्चाताबोध भयो या भएन । तर वर्षौँसम्म पनि डेब्युट प्रेमको असामयिक निधनले मन पिरोली रह्यो । पीडाका झङ्कारहरु महसुस भइरह्यो । सबैभन्दा बढ्ता लक्कीको सम्भावित धारणाबारे खुल्दुली भइरह्यो ।

"https://ml.wikipedia.org/w/index.php?title=ഉപയോക്താവ്:Suman_nepal&oldid=2367181" എന്ന താളിൽനിന്ന് ശേഖരിച്ചത്